काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया र आवश्यक तयारीबारे छलफलका लागि शाही निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलसँगै काठमाडौँ आएका छन्।
नेकपा र नेकपा (एमाले) बीच प्रदेश सरकार गठनका विषयमा भएको सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले गर्ने तय भएको छ। प्रदेश सभामा नेकपाका १३ र एमालेका १० सांसद रहेकाले दुवै दलको संयुक्त समर्थनबाट सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था रहेको छ।
प्रदेश सभामा नेपाली काँग्रेसका १५ सांसद छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक सांसद तथा नेकपा परित्याग गरी जनार्दन शर्मासँग आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का एक सांसद रहेका छन्। प्रदेश सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको व्यवस्थाअनुसार नयाँ मुख्यमन्त्रीका लागि मंगलबार साँझसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।
गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटसम्बन्धी सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले पाउने निर्णय भएपछि संसदीय दलका नेता शाही मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन्।






