काठमाडौँ । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग राखेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमवार माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितहरूलाई विभाजन गरेर पीडितहरूको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।
सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे ।
माग सम्बोधन गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरूको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए । सहकारी पीडितसँग विगतमा गरेका सम्झौताहरू कार्यान्वयन गराउन आफूहरूले प्रदर्शनमा उत्रिएको उनको भनाई छ । उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए । सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठुलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरूले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको ब्यानर समेत प्रदर्शन गरेका छन् ।






