सरकारको नयाँ संगठन तथा पद संरचना कार्यान्वयनले गति लिएको संकेतस्वरूप राष्ट्रिय किताबखानाले तीन दिनमै ६२२ दरबन्दी दर्ता टुंग्याएको छ, जसमा ६ विशिष्ट र २७ सहसचिवस्तरका पद समावेश छन्।
काठमाडौँ । मन्त्रिपरिषद्को संगठन तथा पद दर्तासम्बन्धी निर्णय कार्यान्वयनका क्रममा राष्ट्रिय किताबखानाले तीन दिनमै ६२२ पद तथा दरबन्दी दर्ता सम्पन्न गरेको छ। दर्ता भएका पदमध्ये ६ विशिष्ट तथा २७ सहसचिव वा सो सरहका पद रहेका छन्।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार साउन ८ गतेदेखि मन्त्रालयहरूबाट संगठन तथा पद दर्ताका फाइल प्राप्त हुन थालेका हुन्। साउन १२ गते अपराह्नसम्म सात मन्त्रालय तथा अन्तर्गतका तीन निकायबाट दर्ताका लागि फाइल प्राप्त भएका छन्।
सरकारको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय किताबखानाले आवश्यक कागजात र प्रक्रिया पूरा भएका फाइल सोही दिन दर्ता टुंग्याउने गरी विशेष कार्यदल परिचालन गरेको जनाएको छ। सोही कार्यदलले तीन दिनको अवधिमा विभिन्न तह र श्रेणीका ६२२ दरबन्दी दर्ता सम्पन्न गरेको हो। आवश्यक कागजात अपूरा रहेका फाइलको हकमा भने विवरण प्राप्त भएपछि दर्ता प्रक्रिया अघि बढाइने किताबखानाले जनाएको छ।
हालसम्म भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १४०, राष्ट्रिय किताबखानाका १०६, सहकारी रजिस्ट्रारको कार्यालयका ३७, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका ९०, रक्षा मन्त्रालयका ६५, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ७०, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका ९६ तथा न्याय सेवा तालिम केन्द्रका १८ दरबन्दी दर्ता सम्पन्न भएका छन्।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयको फाइलमा थप विवरण माग गरिएको छ भने महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको फाइल ढिलो प्राप्त भएकाले दर्ता प्रक्रिया जारी रहेको राष्ट्रिय किताबखानाले जनाएको छ






