काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
मंगलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
सरकारले निजी क्षेत्रको फैलावटका लागि सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न उनले आग्रह गरे। सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन पनि उनले उद्योगी-व्यवसायीहरूलाई आग्रह गरे ।
“तपाईँहरू ढुक्क भएर लगानी विस्तार गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस्, राज्यले के-के गर्नुपर्ने हो हामीलाई निर्धक्क भएर भन्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “कानुनी, व्यावहारिक सबै अप्ठ्यारोमा सरकार तपाईँहरूसँगै छ। तपाईँहरूको लगानीको सुरक्षाको जिम्मेवारी सरकारको भयो।” सरकारको २१ खर्ब २४ अर्बको बजेटले ६६ खर्बको अर्थतन्त्र चलायमान गराउनुपर्ने र त्यसको ड्राइभिङ सिटमा निजी क्षेत्र नै रहेको उनको भनाइ छ।
बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उनले उद्योगी-व्यवसायीहरूलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनुपर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गरे।
“यो पाँच वर्षको स्पष्ट आर्थिक मार्गचित्रको पहिलो वर्ष हो। अहिले हामीले सुधारको सुरुआत मात्रै गरेका छौँ। आउने वर्ष अझै ठुला कामहरू गर्न बाँकी छ,” उनले भने, “निजी क्षेत्र हातेमालो गरेर अघि बढोस्, सरकार सधैँ साथमा छ।”
मंगलवार पाँच घण्टासम्म उनले उद्योगी-व्यवसायीहरूका समस्याहरू सुनेका थिए। सो क्रममा उठेका अन्त:शुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासोहरूलाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन उनले निजी क्षेत्रलाई आग्रह गरे ।
बजेटमा उल्लिखित नीति कार्यान्वयनले गति लिइसकेको भन्दै उनले सरकारले आयात प्रतिस्थापन, निजी क्षेत्रको लगानी सुरक्षा र मुनाफा आर्जन गर्न सक्ने निजी क्षेत्रसँग सहकार्य चाहेको स्पष्ट पारे । लगानी र उत्पादनशील अर्थतन्त्रको विकासका लागि सरकार-निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।






