काठमाडौँ । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत् तथा सञ्चारका तारमा आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जोखिम न्यूनीकरणका लागि तत्काल पहल गर्न निर्देशन दिएका छन्।
मंगलबार राति भएको आगलागीपछि मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर अवस्थाको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले अव्यवस्थित तारका कारण जुनसुकै समयमा गम्भीर दुर्घटना हुन सक्ने भएकाले समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
आगलागीको घटनापछि नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, काठमाडौँ महानगरपालिका र अन्य सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक कदम अघि बढाइएको छ।
मन्त्री श्रेष्ठले जोखिमपूर्ण अवस्थामा रहेका तार तत्काल हटाउने वा व्यवस्थापन गर्ने तथा दीर्घकालीन रूपमा राजधानीका विभिन्न क्षेत्रमा तार व्यवस्थापनको व्यवस्थित योजना लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उनले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सार्वजनिक जोखिमसँग जोडिएका यस्ता विषयमा सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
राजधानीका विभिन्न स्थानमा लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेका तार व्यवस्थापनका लागि अभियानलाई तीव्रता दिने तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन्।
यसैबीच, स्थानीयवासीले थापाथली मात्र नभई काठमाडौँका अन्य क्षेत्रमा समेत अव्यवस्थित तार हटाउने र सुरक्षित पूर्वाधार व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।






