काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा सम्पन्न गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक मन्त्री तथा समितिकी अध्यक्ष सिता बादीको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा आर्थिक वर्षभर सञ्चालन भएका नीति, कार्यक्रम, बजेट कार्यान्वयन, वित्तीय तथा भौतिक प्रगति, संस्थागत सुधार, सेवा प्रवाह र समग्र कार्यसम्पादनको विस्तृत मूल्यांकन गरिएको मन्त्रालयले जनाएको छ।
समीक्षाका क्रममा वार्षिक उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, उपलब्ध स्रोत–साधनको उपयोग तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो। साथै, यसअघि सम्पन्न मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाको पनि पुनरावलोकन गरिएको जनाइएको छ।
बैठकमा लक्ष्यअनुसार प्रगति हासिल गर्न कार्यान्वयनमा देखिएका समस्या समाधान, निकायहरूबीचको समन्वय सुदृढीकरण तथा कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
समीक्षालाई सम्बोधन गर्दै मन्त्री सिता बादीले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सार्वजनिक सेवा मन्त्रालयका सबै निकायको कार्यसम्पादनको आधार बन्नुपर्ने बताइन्। उनले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सामाजिक सुरक्षा योजनाका लाभग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइन्।
मन्त्री बादीले सीमित स्रोत-साधनको प्रभावकारी परिचालन, निर्धारित समयमै कार्यक्रम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकास तथा परिणाममा आधारित कार्यसम्पादनलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समीक्षा बैठकबाट प्राप्त सुझाव र निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी मन्त्रालयको समग्र कार्यदक्षता थप सुदृढ बनाउन आग्रह गरिन्।






