ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले नवप्रवेशी इन्जिनियरहरूलाई प्राविधिक दक्षतासँगै इमानदारी, नैतिकता र उत्तरदायित्वलाई कार्य संस्कृतिको आधार बनाउन आग्रह गर्दै गुणस्तरीय पूर्वाधार निर्माणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास तथा सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरहरूको कार्यसम्पादनमा निर्भर रहने बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेशलाई केवल जागिरको सुरुआतका रूपमा नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे।
उनले अब इन्जिनियरहरू प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए।
पूर्वाधार विकासमा इन्जिनियरको भूमिका निर्णायक
मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धि इन्जिनियरहरूको सृजनशीलता, अनुसन्धान, अनुशासन र निरन्तर परिश्रमसँग जोडिएको उल्लेख गरे। सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार तथा आधुनिक सहरहरूको विकास इन्जिनियरहरूको क्षमता र दूरदृष्टिको परिणाम भएको उनको भनाइ थियो।
उनले इन्जिनियरिङलाई गणित र विज्ञानको प्रयोगमा मात्र सीमित नराखी समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक विधाका रूपमा व्याख्या गरे। सफल इन्जिनियरले संरचना मात्र नभई अवसर, विश्वास र भविष्यसमेत निर्माण गर्ने भएकाले उनीहरूको योगदान राष्ट्र विकासका लागि महत्वपूर्ण हुने उनले बताए।
नैतिकता र पारदर्शितामा जोड
मन्त्री श्रेष्ठले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तन अनुकूल पूर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै यी लक्ष्य नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने बताए।
सरकारी सेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहने उल्लेख गर्दै उनले कतिपय अवस्थामा प्राविधिक दक्षताभन्दा नैतिक साहस अझ महत्वपूर्ण बन्ने बताए। सहज र सहीमध्ये छनोट गर्नुपर्ने अवस्था आए सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हुने उनको भनाइ थियो।
इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्रभन्दा समाजको विश्वास भएको उल्लेख गर्दै उनले पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्य संस्कृतिको केन्द्रमा राख्न आग्रह गरे।
नवप्रवर्तन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन
विश्वव्यापी रूपमा प्रविधिको तीव्र विकाससँगै इन्जिनियरिङको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताए। स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनबाट नेपालको भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे।
कम लागतमा उच्च गुणस्तरका पूर्वाधार निर्माण, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि तथा दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणको डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षण र परीक्षणसम्मका सबै चरणमा गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए।
उनले सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकताको कडाइका साथ पालना गर्न नवप्रवेशी इन्जिनियरहरूलाई आग्रह गरे।
राष्ट्रहितलाई सर्वोपरि राख्न आग्रह
सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट प्राविधिक दक्षतासँगै नवीन सोच, नेतृत्व क्षमता, सकारात्मक ऊर्जा र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको बताए।
समृद्ध नेपाल निर्माण संसद् वा मन्त्रालयको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले हजारौँ इमानदार, दक्ष र समर्पित राष्ट्रसेवकहरूको संयुक्त योगदानबाट मात्र राष्ट्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। साथै राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न र उत्कृष्ट कार्यसम्पादनमार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउन नवप्रवेशी इन्जिनियरहरूलाई प्रेरित गर्दै तालिम सफलताको शुभकामना व्यक्त गरे।






