काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना र सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले करिब २४ खर्ब रुपैयाँको बजेटमा विकासतर्फको खर्च अत्यन्तै न्यून हुनु चिन्ताको विषय भएको बताए । डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव नरहेको उनको भनाइ छ । उनकाअनुसार अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउने हो भने विकास बजेटको आकार कम्तीमा १२ खर्ब पुर्याइनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा खर्च पुराउनुपर्छ । उपाध्यक्ष श्रेष्ठले नेपाली विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै उच्चस्तरीय गुणस्तरीय शिक्षाको सुनिश्चितता हुनुपर्ने बताए । उनले विश्वप्रख्यात विश्वविद्यालयहरूसँगको साझेदारी वा संयुक्त लगानी (जोइन्ट भेन्चर) मा नेपालमै उच्च शिक्षाका केन्द्रहरू खोल्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । यसका लागि दीर्घकालीन सोचका साथ अघि बढ्न उहाँले सरकारलाई आग्रह गरे।
शैक्षिक परामर्श क्षेत्रमा धरौटी राख्नुपर्ने जस्ता प्रावधान ल्याएर व्यवसायीलाई निरुत्साहित गर्ने र निजी क्षेत्रको ‘खुट्टा तान्ने’ प्रवृत्ति बन्द हुनुपर्नेमा समेत उनले जोड दिए । व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण निर्माण गरिदिन उहाँले सरकारसँग माग गरेका छन् ।






