काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौँ महानगरपालिका–२६ स्थित मानव सेवा आश्रमलाई संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न र यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।
परिषद्ले आश्रमलाई पठाएको पत्रमार्फत बालगृहमा रहेका बालबालिकाको पहिचान खुल्ने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बालबालिकाको गोपनीयता, सुरक्षा तथा सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न उक्त निर्देशन जारी गरिएको परिषद्को भनाइ छ।
परिषद्ले ‘बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ को व्यवस्था स्मरण गराउँदै बालगृहमा संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर वा भिडियो सार्वजनिक गर्न नपाइने स्पष्ट कानुनी प्रावधान रहेको उल्लेख गरेको छ।
परिषद्का अनुसार यस्ता सामग्री सार्वजनिक हुँदा बालबालिकाको गोपनीयता, आत्मसम्मान, सुरक्षा तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्न आवश्यक छ।
यसै सन्दर्भमा परिषद्ले मानव सेवा आश्रमलाई भविष्यमा यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा हालसम्म सार्वजनिक भएका सबै तस्बिर र भिडियो तत्काल हटाउन निर्देशन दिएको छ।
परिषद्ले बाल संरक्षणसँग सम्बन्धित सबै निकाय, बालगृह तथा सरोकारवालालाई पनि बालबालिकाको गोपनीयता, मर्यादा, सुरक्षा र सर्वोत्तम हितलाई प्राथमिकतामा राख्दै प्रचलित कानुन तथा बाल अधिकारसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ।







