काठमाडौँ । कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एकीकृत कृषि प्रयोगशाला, सुर्खेतले आफ्ना कर्मचारी नायब प्राविधिक सहायक चन्द्रा सिंहको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा शोक वक्तव्य जारी गरेको छ। उक्त कार्यालयले उनी २७ वर्षको उमेरमा साउन १५ गते सरकारी निवासमा निधन भएको जनाएको छ।
प्रयोगशालाद्वारा जारी वक्तव्यमा सिंहको निधनले प्रयोगशाला परिवारलाई गहिरो आघात पुगेको उल्लेख गर्दै उनले करिब दुई वर्षसम्म इमानदारी, लगनशीलता र जिम्मेवारीका साथ सेवा पुर्याएको स्मरण गरिएको छ।
वक्तव्यमा सिंहको निधनलाई राष्ट्र सेवामा समर्पित एक कर्तव्यनिष्ठ कर्मचारीको अपूरणीय क्षतिका रूपमा उल्लेख गर्दै स्वर्गीय आत्माको चिर सान्तीको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना पनि गरिएको छ।
प्रयोगशालाका कार्यालय प्रमुख परशुराम रावतद्वारा हस्ताक्षरित उक्त शोक वक्तव्य सोमबार सार्वजनिक गरिएको हो।
उल्लेखनीय छ, चन्द्रा सिंहको मृत्यु प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक नायब सुब्बालाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







