काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। मृत्यु भएपछि उनका परिवारले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन बनेपछि परिवारले शव नबुझ्ने निर्णय कायम राखेको हो।
मृतकका दाजु रोशन मेहताले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी प्रक्रिया अघि नबढाइएसम्म सरकारसँग कुनै सहमति नहुने बताएका छन्। उनका अनुसार गोली चलाउने प्रहरीसहित घटनामा संलग्न सबै व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरी कानुनी कारबाहीको प्रक्रिया तत्काल सुरु हुनुपर्ने परिवारको मुख्य माग रहेको छ।
उनले दोषीलाई कानुनी दायरामा ल्याउने ठोस निर्णय नभएसम्म शव नबुझ्ने स्पष्ट गर्दै त्यसपछि मात्रै सरकारसँग थप सहमतिको वातावरण बन्न सक्ने बताएका छन्।
छलफलका क्रममा गृहमन्त्रीले घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन भइसकेको जानकारी दिँदै समितिको प्रतिवेदनका आधारमा दोषी देखिने व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको परिवारले जनाएको छ।
यसअघि सोही घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति गरेको थियो।
रवीन्द्र मेहताको परिवारले पनि सोही प्रकृतिका सुविधा र निर्णय आफूहरूमाथि पनि लागू गर्नुपर्ने तथा घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउनुपर्ने माग गर्दै शव नबुझ्ने अडान कायम राखेको जनाएको छ।






