काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका घटनामा मृत्यु भएका तथा घाइते भएकाहरूलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका परिवारलाई सरकारी राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार घटनामा मृत्यु भएका परिवार तथा घाइतेको राहत र उपचार व्यवस्थासम्बन्धी निर्णय भए पनि उपलब्ध गराइने रकमको विवरण भने सार्वजनिक गरिएको छैन।
सुनसरीमा भएको घटनामा तीन जना र सिरहामा एक जनाको मृत्यु भएको थियो। घटनापछि प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको हो।






