काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सरकारी सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण बुधबारदेखि अवकाशमा गएका गुरागाईँलाई महानगरपालिकाले औपचारिक बिदाइ गरेको हो।
गुरागाईंले करिब दुई वर्ष काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनी २०८१ असोज ७ गते उक्त पदमा नियुक्त भई महानगरमा पद बहाली गरेका थिए।
उनको कार्यकालमा महानगरको प्रशासनिक नेतृत्व, सेवा प्रवाह तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यको नेतृत्व गरेका थिए। यस अवधिमा महानगरको प्रशासनिक नेतृत्वलाई लिएर विभिन्न सार्वजनिक बहससमेत भएका थिए।
महानगरपालिकामा आयोजित बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले गुरागाईंले महानगरको प्रशासनिक नेतृत्वमा पुर्याएको योगदान स्मरणीय रहने बताइन्। उनले सार्वजनिक प्रशासनमा गुरागाईंले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरिन्।






