काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको सवाल जवाफका क्रममा आफ्नो अभिव्यक्ति शैली ठाडो हुन पुगेको भन्दै माफी मागेका छन्।
राष्ट्रिय सभा बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफल चलिरहेका बेला सांसदहरूले निर्मला पन्त हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए। त्यस क्रममा उनको अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले बैठकमै आफ्नो भनाइप्रति आत्मालोचना गरेका हुन्।
गृहमन्त्री गुरुङले आफूबाट प्रस्तुत भएको शैली उपयुक्त नभएको महसुस भएको भन्दै सांसदहरूसँग क्षमायाचना गरे। उनले जनप्रतिनिधिहरूबाट आफूले अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
उनले विपद् व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित छलफल भइरहेको अवस्थामा अन्य विषय जोडिएपछि आफ्नो प्रतिक्रिया केही कडा हुन पुगेको स्पष्ट पारे।
‘विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेका बेला निर्मला पन्त हत्याकाण्डको प्रसंग जोडिएपछि विषय केन्द्रित हुनुपर्ने धारणा राखेको हुँ,’ उनले बैठकमा भनेका थिए।
गृहमन्त्री गुरुङले निर्मला पन्त हत्याकाण्ड संवेदनशील विषय भए पनि त्यसलाई मनसुनजन्य विपद् व्यवस्थापनको छलफलसँग जोड्दा विषयान्तर भएको आफ्नो धारणा रहेको बताएका थिए। उनले आफ्नो अभिव्यक्तिको शैलीप्रति भने असन्तुष्टि व्यक्त गर्दै माफी मागेका हुन्।






