काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग सामूहिक छलफल गरेका छन्।
बिहीबार आयोजित छलफलमा अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकार गठनका विषयमा गरेको निर्णयबारे सांसदहरूलाई जानकारी गराएका हुन्।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष लिङ्देनले पछिल्लो राजनीतिक अवस्थाबारे सांसदहरूलाई धारणा राख्दै पार्टीको निर्णय र त्यसको कार्यान्वयन पक्षबारे स्पष्ट पारेका थिए।
छलफलपछि प्रदेश सांसदहरूले पार्टीको निर्णयलाई आधार मानेर एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार सांसदहरूले पार्टीको निर्णयको मर्मअनुसार समर्थन, सहकार्य र पूर्ण प्रतिबद्धता कायम राख्ने बताएका छन्।
यसअघि बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार निर्माणका क्रममा हुने अंकगणितीय समीकरणमा सहभागी नहुने निर्णय गरेको थियो। सोही निर्णयबारे प्रदेश सांसदहरूलाई जानकारी गराउँदै पार्टी नेतृत्वले आगामी राजनीतिक भूमिकाबारे स्पष्ट सन्देश दिएको हो।






