काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेन जेड घर उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरेका छन्।
उनले जेन जेड पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भए पनि परिस्थिति अनुकूल नभएको बताए । यद्यपि जेन जेड शहीदका परिवार र जेन जेड पुस्ताका मागहरू पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले जेन जेड आन्दोलनलाई लिएर राजनीति गरिरहेका जेन जेड अगुवाप्रति आपत्ति पनि जनाएका छन् ।
उनले भने, ‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साँच्चि भन्ने हो भनेदेखि । कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ । कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ । यो अवधिमा हरेक चोटि केही न केही त भएको छ । मैले कामै राम्रोसँग गर्न पाएको छैन । जेनजीको सम्बन्धमा गर्नुपर्ने कयौँ योजना र कामहरू छन् जुन मैले बनाउनुपर्नेछ । तर हरेक नागरिक मेरो ढोकामा आएर आँसु झर्दै गर्दा त्यो उहाँहरूको माग सम्बोधन गर्ने कुरा पनि मेरो कर्तव्य त हो नि । त्यही गर्नको लागि त जिताएर पठाउनुभएको हो हजुरले हामीलाई । त्यो जिम्मेवारी पनि सम्हाल्नु छ, जेन–जी नेता जेनजी पुस्ताको सुनेन भनेर पनि धिक्कार्लान । सदनमा बोल्दै गर्दा खेरी जहिले पनि म मनको कुरा मात्रै बोल्छु । केही भूमिका बाँध्दिन, मन पनि पर्दैन ।’
उनले पछिल्लो समय राजनीति गरिरहेका जेन जेड प्रतिनिधिहरूको नियत ठिक नरहेको आशंका पनि गरेका छन् ।






