एजेन्सी । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बंगलादेशी नागरिकको मृत्यु भएको छ । बंगलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ ।
रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । घटनामा ज्यान गुमाउने सबै बंगलादेशीनागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधिकारीसँग समन्वय गरी आगलागीमा ज्यान गुमाउनेहरूको पहिचान पुष्टि गर्ने तथा शव हस्तान्तरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
रियादस्थित बङ्गलादेशी दूतावासले घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन टोली परिचालन गरेको छ । दूतावासका अनुसार मृतकको पहिचान पुष्टि, कानुनी औपचारिकता पूरा गर्ने तथा पीडितका परिवारलाई आवश्यक सहजीकरण गर्ने काम प्राथमिकताका साथ भइरहेको छ ।
दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा रियादको मुसा सनैया क्षेत्रमा भएको आगलागीमा प्रवासी बङ्गलादेशी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । घटनाको खबर पाएपछि दूतावासको प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेको र घटनाको विस्तृत विवरण सङ्कलन सुरु गरेको दूतावासले जनाएको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार मृतकको पहिचान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको छ ।
साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन् । रियादमा भएको पछिल्लो घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ ।






