काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)का प्रतिनिधि श्रीराम हरिदासबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा शुक्रबार भएको भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैंगीक समानता, सामाजिक न्याय र सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा जारी सहकार्यलाई थप प्रभावकारी तथा परिणाममुखी बनाउने विषयमा छलफल भएको हो।
मन्त्री बादीले नेपालमा लैंगीक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोर किशोरीको संरक्षणमा यूएनएफपीएले पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन्। मन्त्रालय र यूएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्री बादीले लैंगीक तथा घरेलु हिंसा, बालविवाह एवं सामाजिक रूपमा हानिकारक अभ्यास र कुप्रथा अन्त्य गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताइन्।
महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण र लैंगीक हिंसाविरुद्धको प्रतिकार्य प्रणाली निर्माणमा यूएनएफपीएले उपलब्ध गराउँदै आएको प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
भेटमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलालाई आत्मनिर्भर र सशक्त बनाउन सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासका अवसरमा पहुँच विस्तार गर्ने विषयले प्राथमिकता पाएको थियो।
सामाजिक न्याय र समावेशी शासन प्रभावकारी बनाउन सीमान्तकृत समुदायको राज्यका अवसर तथा सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
यौनिक तथा लैंगीक अल्पसङ्ख्यकका अधिकार संरक्षण, सबै प्रकारका भेदभाव अन्त्य तथा स्वास्थ्य सेवा, सामाजिक सेवा र कानुनी संरक्षणमा सहज एवं समान पहुँच सुनिश्चित गर्न सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।
मन्त्री बादीले नेपाल र यूएनएफपीएबीचको सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र विशेषज्ञता हस्तान्तरणमा समेत विस्तार गर्न सकिने बताइन्।
महिला, बालबालिका तथा सामाजिक विकासका क्षेत्रमा यूएनएफपीएको अनुभव र विशेषज्ञतालाई आधार बनाएर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने विश्वास उनले व्यक्त गरिन्।






