काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापतिको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
तीन दिनसम्म चलेको समूहको सम्मेलनले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै नेपालमा सनातनदेखि चलिआएका धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढ्ने धारणा सार्वजनिक गरेको हो।
सम्मेलनबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा उल्लेख गरिएको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।
त्यस्तै, हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता प्रस्तावमा गरिएको छ।
सम्मेलनमा देउवाले आफू हिन्दु भएको उल्लेख गर्दै सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने बताएका छन्।
यसअघि काँग्रेसले धार्मिक स्वतन्त्रताका विषयमा धारणा राख्दै आएकोमा देउवा समूहले सम्मेलनमार्फत धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक सद्भावसँगै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको हो।






