काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा भारी वर्षा र त्यसबाट उत्पन्न हुने विपद्को जोखिम उच्च रहेको बताएका छन्।
प्राधिकरणमा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले यस वर्ष मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भएकाले सतर्कता र प्रतिकार्य तयारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।
नेपालमा मनसुन प्रवेश गर्ने औपचारिक मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ गतेसम्मको अवस्थाअनुसार मनसुनको अवधि करिब एक महिना १४ दिन बाँकी रहेकाले अब जोखिम व्यवस्थापनलाई ‘काउन्टडाउन’का रूपमा अघि बढाउनुपर्ने उप्रेतीको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक औसत वर्षा करिब एक हजार ४७० मिलिमिटर हुने गर्छ। भदौ १ गतेसम्म करिब ८२४ मिलिमिटर अर्थात् वार्षिक औसतको ५५ प्रतिशत वर्षा भएको उप्रेतीले जानकारी दिए।
समग्र वर्षाको परिमाणभन्दा यसको भौगोलिक वितरण र प्रवृत्ति यस वर्ष फरक देखिएको उनले बताए। मध्य पहाडी क्षेत्रका निश्चित भूभागमा खण्डवृष्टि हुँदा ठुलो जनधनको क्षति भएको छ भने मधेशमा औसतभन्दा निकै कम वर्षा भएको छ।
आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षा हुने सम्भावना रहेको र तराई–मधेशमा पनि ठुलो वर्षा हुन सक्ने प्रक्षेपण देखिएको उनले जानकारी दिए।
उप्रेतीले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने बताए। समुद्री सतहको तापक्रममा आएको परिवर्तनले जलवाष्पयुक्त वायु र स्थानीय वायुबीचको अन्तरक्रियामा प्रभाव पार्दा वर्षाको स्वरूपसमेत परिवर्तन हुने उनको भनाइ छ।
हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’ (आईओडी) ले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्न सक्ने उनले बताए। आईओडी हाल तटस्थ अवस्थामा रहे पनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलले आगामी दिनमा सकारात्मक अवस्थामा पुग्न सक्ने संकेत गरेका छन्।
आईओडी सकारात्मक भए दशैँ-तिहार आसपास पनि वर्षा हुन सक्ने सम्भावना रहने भए पनि अहिले नै निश्चित निष्कर्ष निकाल्न नमिल्ने उप्रेतीले स्पष्ट पारे।
प्राधिकरणले मनसुन र विपद्सम्बन्धी सूचना प्रभावकारी रूपमा प्रवाह गर्न एकीकृत सूचना प्रणाली विकास गर्ने तयारी गरेको छ। विभिन्न निकायबाट प्राप्त हुने सूचना एउटै प्रणालीमार्फत उपलब्ध गराउँदै पूर्वसूचना र प्रतिकार्य संयन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
उप्रेतीले स्थानीय तहमा डोजर प्रयोग गरी प्राविधिक अध्ययनबिना जथाभाबी सडक खन्दा वर्षायाममा पहिरोको जोखिम बढेको बताए। मनसुनको बाँकी अवधिमा सम्भावित जोखिमयुक्त क्षेत्रको निगरानी, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग र प्रतिकार्यका लागि सम्बन्धित निकाय तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए।






