काठमाडौँ। सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाको वास्तविक अवस्था अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गरेका छन्।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। प्रतिवेदनमाथि मन्त्रालयले अध्ययन गरेपछि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताइन्।
गत साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावपछि झडपको अवस्था सिर्जना भएको थियो। उक्त घटनामा सुरक्षाकर्मीको गोली लागेर स्थानीय चार जनाको मृत्यु भएको थियो।
घटनामा सुरुमा कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि गोली लागेर घाइते भई उपचाररत जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि ज्यान गएको थियो।
सुनसरीमा उत्पन्न विवादको प्रभाव सिरहासम्म पुगेपछि त्यहाँसमेत तनाव र गोली चल्ने अवस्था बनेको थियो। सो घटनामा गणेश यादवको मृत्यु भएको थियो।
दुवै जिल्लाका घटनाको प्रकृति र अवस्थाबारे छुट्टाछुट्टै अध्ययन गर्न गृह मन्त्रालयले दुईवटा समिति गठन गरेको थियो।
दुवै समितिले स्थलगत तथा अन्य पक्षको अध्ययनपछि तयार पारेको प्रतिवेदन मंगलबार नै मन्त्रालयमा बुझाएका हुन्। अब प्रतिवेदनमा उल्लेखित विषयवस्तुको अध्ययन गरी घटनामा देखिएका कमजोरी, जिम्मेवारी र आवश्यक कारबाहीबारे मन्त्रालयले प्रक्रिया अघि बढाउने जनाएको छ।






