काठमाडौँ । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अध्यक्ष र एक वरिष्ठ वकिलमाथि प्रतिबन्ध लगाएको छ । आईसीसीको गतिविधिविरुद्ध वासिङ्टनले आफ्नो कडा नीतिलाई निरन्तरता दिँदै मंगलवार उक्त घोषणा गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा जारी विज्ञप्तिअनुसार आईसीसीका जापानी अध्यक्ष टोमोको अकाने र सेनेगलका वरिष्ठ सरकारी वकिल (सिनियर ट्रायल लयर) अब्दुलाये सेयलाई प्रतिबन्धको सूचीमा राखिएको छ । आईसीसीको क्षेत्राधिकारलाई मान्यता नदिएका देशका अधिकारीहरूलाई अनुसन्धान, पक्राउ वा अभियोजन गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोप उनीहरूमाथि लगाइएको छ ।
विदेशमन्त्री रुबियोले भनेका छन्, ‘आईसीसीले संयुक्त राज्य अमेरिका र ‘रोम विधान’ अनुमोदन नगरेका अन्य देशका नागरिकहरूमाथि निरन्तर आफ्नो अधिकार जमाउने प्रयास गरिरहेको छ । यसले विश्वका सबै राष्ट्रहरूका लागि एउटा खतरनाक नजिर स्थापना गरेको छ ।’
यस प्रतिबन्धसँगै अमेरिकी नागरिक वा संस्थाहरूले अकाने र सेयसँग कुनै पनि प्रकारको व्यावसायिक कारोबार गर्न पाउने छैनन् । साथै, उनीहरूलाई अमेरिकी वित्तीय प्रणालीमा पहुँच बनाउन समेत प्रभावकारी रूपमा रोक लगाइएको छ ।
आईसीसी स्थापना गर्ने सन्धि ‘रोम विधान’ मा अमेरिका सहभागी छैन । त्यसैले, अमेरिकी कर्मचारी र इजरायली अधिकारीहरू जस्ता गैर–सदस्य राष्ट्रका नागरिकमाथि अदालतले क्षेत्राधिकार प्रयोग गर्ने प्रयासको अमेरिकाले विरोध गर्दै आएको छ ।
सन् २०२४ मा आईसीसीले गाजा द्वन्द्वमा युद्ध अपराध र मानवता विरुद्धको अपराध गरेको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन रक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि तनाव थप चुलिएको हो । आईसीसीले भने सदस्य राष्ट्रको भौगोलिक क्षेत्रभित्र भएका अपराधहरूमा संलग्न जो–कोहीमाथि, उनीहरूको नागरिकता जुनसुकै देशको भए पनि, आफ्नो क्षेत्राधिकार रहने अडान राख्दै आएको छ






