काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् ।
थापामगरले विभिन्न तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । एमाले संसदीय दलको निर्णयअनुसार उनले प्रदेश सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक हुन्छ । १०४ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।
थापामगरको दाबीमा उल्लेख भएको ६३ सदस्यको समर्थन प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्याभन्दा बढी हो । अब प्रदेश प्रमुखले प्राप्त दाबी तथा समर्थनको आधारमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढाउनेछन् ।






