काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले नेपाल प्रहरीको मुख्यालय कब्जा गरेको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि उठेका प्रश्नको छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाए । उनले समितिले यसअघि माग गरेका खरिदसम्बन्धी कागजात उपलब्ध भए/नभएको जानकारी गराउन पनि सभापतिको ध्यानाकर्षण गराए ।
समितिको यसअघिको बैठकले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको थियो । ती कागजातको अवस्थाबारे प्रश्न गर्दै सुनारले यसबीचमा पनि प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए ।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ सुनारले भने, ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’
आफूले यसअघि समितिमा उठाएका प्रश्नमा अडिग रहेको बताउँदै सुनारले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको महसुस भए अदालत जान चुनौतीसमेत दिए । आफूले उठाएका प्रश्नको कानुनी रूपमा जवाफ दिन तयार रहेको उनको भनाइ थियो ।
‘कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिन म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’
‘एउटा सांसदले अर्को सांसदलाई धम्क्याउने काम स्वीकार्य छैन’
सुनारले समितिको अघिल्लो बैठकमा भएको बहस र सांसदहरूको व्यवहारप्रति पनि आपत्ति जनाए । समितिमा हुने छलफल नियम वा नियमावलीविपरीत भए सभापतिले तत्काल रुलिङ गर्नुपर्ने तर एउटा सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘पछिल्लो बैठकमा जे–जे भयो, त्यो जनताले सबै ठाउँबाट देखिरहनुभएको छ,’ उनले भने, ‘समितिमा भएका छलफल कहीँकतै नियम–नियमावलीविपरीत छन् भने सभापतिज्यूले रुलिङ गर्नुहोला । तर एउटा सांसदले अर्को सांसदको हुरमत लिने, धम्क्याउने, घेराबन्दी गर्ने काम मान्य छैन ।’
जनताबाट निर्वाचित भएर आएको प्रत्येक सांसद समितिमा सार्वभौम रहेको उल्लेख गर्दै उनले कुनै सांसदको अभिव्यक्तिमाथि नियमापत्ति भए समितिको नियमावलीअनुसार समाधान खोजिनुपर्ने बताए ।
‘बोल्दै गरेको वक्ता पनि त्यहीँ निर्वाचित सांसद हो, जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो । यहाँ प्रत्येक सांसद सार्वभौम छ,’ सुनारले भने, ‘कहीँकतै नियमापत्ति भयो भने सार्वजनिक लेखा समितिको नियम–नियमावली देखाउने, नियमापत्ति गर्ने र सभापतिले रुलिङ गर्ने हो ।’
‘प्रश्न निर्मम, गम्भीर र गहिरो हुन्छ’
सुनारले भ्रष्टाचार र अनियमिततामाथिको छानबिन सामान्य शैलीका प्रश्नबाट सम्भव नहुने भन्दै समितिमा सोधिने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए ।
आफ्नो प्रश्न गर्ने शैलीमाथि आलोचना भइरहेको उल्लेख गर्दै उनले परम्परागत शैलीमा प्रश्न गरेर भ्रष्टाचारको गहिराइसम्म पुग्न नसकिने जिकिर गरे ।
‘शैली मिलेन भनिएको छ, धेरै ठाउँमा । पहिलेको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन,’ उनले भने, ‘प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तल्लैबाट हुन्छ ।’
आफ्नो प्रश्न गर्ने शैली समितिलाई अमर्यादित वा अस्वाभाविक लागे आफू समितिबाट बाहिरिनसमेत तयार रहेको सुनारले बताए ।
‘प्रश्नकर्ता वक्ता अस्वाभाविक, अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनुहोला, म दैलेखको नाइट बस चढ्न तयार छु,’ उनले भने, ‘तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ ।’
उनले आफूमाथि घेराबन्दी भए त्यसको सामना गर्न पनि तयार रहेको बताए । ‘फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्न तयार छ । कहाँको कठघरामा उभिनुपर्छ, प्रत्येक मेरो प्रश्नको मसँग जवाफ छ । त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ,’ उनले भने ।
सुनारले अनियमितता र भ्रष्टाचारका विषयमा सार्वजनिक लेखा समिति निर्मम भएर प्रस्तुत हुनुपर्नेमा समेत जोड दिए ।
यसअघि प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनार र आईजीपी कार्कीबीच विवाद भएको थियो । सुनारले प्रहरीको खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका थिए भने उनको अभिव्यक्ति र शैलीलाई लिएर समितिभित्रै विरोध भएको थियो ।
बिहीबारको बैठकमा सुनारले सोही विवाद र आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै आफ्नो अघिल्लो अडान कायमै रहेको बताएका हुन् । उनले प्रहरीको खरिद प्रक्रियामा उठेका प्रश्नको छानबिन हुनुपर्ने र आफूले उठाएका प्रश्नको जवाफ दिन जुनसुकै कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए ।






