काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।
शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा अधिकारकर्मी तथा बालिकाका आफन्त सहभागी भएका थिए । उनीहरूले घटनामा संलग्न व्यक्तिलाई प्रचलित कानूनअनुसार कडा कारबाही गर्नुपर्ने र पीडित परिवारले न्याय पाउनुपर्ने माग राखेका छन् ।
प्रदर्शनमा सहभागीहरूले बालिकाको हत्या घटनालाई गम्भीर आपराधिक घटनाका रूपमा लिएर प्रभावकारी अनुसन्धान तथा दोषीमाथि कठोर कानुनी कारबाही सुनिश्चित गर्न राज्यको ध्यानाकर्षण गराएका थिए । उनीहरूले न्यायको मागसहित विभिन्न सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बालिका तथा महिलामाथि हुने यौनजन्य हिंसा र जघन्य अपराध नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा प्रदर्शनकारीहरूले जोड दिएका छन् । नागरिकको सुरक्षा सुनिश्चित गर्ने दायित्व राज्यको भएकाले यस्ता घटनाको पुनरावृत्ति रोक्न सुरक्षा तथा न्याय प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग थियो ।
शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा सहभागीहरूले गरिमा चौधरीको घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यका निकायबाट आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
साथै, भविष्यमा बालबालिका तथा महिलामाथि हुने यस्ता गम्भीर अपराध रोक्न कडा कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरिएको छ ।






