अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ९० दिनका लागि ३ लाख मेट्रिक टनसम्म ‘ग्राउण्ड बीफ’ (पिँधिएको गोमासु)को आयातमा लाग्ने कोटा बाहिरको भन्सार शुल्कमा सहुलियत दिने घोषणा गरेका छन् ।
शुक्रवार यससम्बन्धी जानकारी दिँदै राष्ट्रपति ट्रम्पले उपभोक्तालाई राहत दिन यस्तो कदम चालिएको बताए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्बोधन गर्दै ट्रम्पले भने, ‘आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ३ लाख मेट्रिक टनसम्म ग्राउण्ड बीफ आयात गर्दा कोटा बाहिरको भन्सार शुल्क लाग्ने छैन ।
उक्त आयातित मासु वर्तमान बजार मूल्यभन्दा २५ प्रतिशत सस्तोमा बिक्री गरिने प्रतिवद्धता समेत हामीले प्राप्त गरेका छौँ ।’
राष्ट्रपति ट्रम्पकाअनुसार यो निर्णयले अमेरिकी नागरिकहरूका लागि मासुको मूल्य घटाउन सहयोग पुर्याउनुका साथै अमेरिकी पशुपालन क्षेत्र (बीफ हर्ड) लाई पुनः विस्तार हुन पर्याप्त समय र अवसर प्रदान गर्नेछ ।
स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार मध्यवधि निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तु र खाद्यान्नमा खेपिरहेको उच्च महँगीको भार कम गर्ने प्रयास स्वरूप ट्रम्पले यो पछिल्लो कदम चालेका हुन्। अमेरिकी राजनीतिमा खाद्यान्नको मूल्यवृद्धि एक प्रमुख चुनावी मुद्दा बनेको सन्दर्भमा यस निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।






