काठमाडौँ । जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन जेड आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने भएका छन् ।
जेन जेड शहीद परिवार कल्याणकारी समाज र घाइते जेन जेड नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जेन जेड शहीद श्रीयम चौलागाईंका पिता तथा जेन जेड शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए। उनले स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोर्नुपर्ने बताए ।
उनले शहीदका परिवार तथा घाइतेहरू आर्थिक रूपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे । उनले संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत बताए । उनले महायज्ञको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने माग गरे ।
उनले भने,‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदै छौँ । आन्दोलनको क्रममा जलाइएको बानेश्वरस्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदै छौँ । हामी जेनजी शहीद र घाइतेको परिवार आर्थिक रूपमा त्यति बलियो छैन । त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको स्वामित्व लिओस् । तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन् । र हाम्रो अर्को कार्यक्रम पनि छ आउँदो असोज १५ गतेदेखि हामी ७ दिने महायज्ञ पनि लगाउँदै छौँ । त्यो महायज्ञ समेत त्यही भवनभित्र लगाउनेछौँ । त्यसको पनि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी समेत सरकार सरकारले लिनुपर्छ । मैले यो विषयमा गृहमन्त्रीसँग छलफल गरेको थिएँ । उहाँले यो विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गरेर जानकारी गराउँछु भन्नुभएको थियो । तर अहिलेसम्म पनि जानकारी गराउनुभएको छैन ।’
जेन जेड शहीदको स्मृति दिवस मनाउने सम्बन्धमा गृहमन्त्री सुधन गुरुङसँग छलफल भइरहेको समेत उनले जानकारी दिए । सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन जेड शहीद दिवसको रूपमा मनाउने निर्णय गरिसकेको छ ।






