काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून निर्माण तथा कार्यान्वयनमा सरोकारवालाहरूको सुझाव अति आवश्यक रहेको बताएका छन् ।
सोमवार विधायन व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले सांसदहरूको सुझावलाई विधेयकमा समेट्ने प्रतिबद्धता पनि जनाइन्। सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप विशिष्टीकृत र कार्यान्वयनयोग्य बनाउन सहयोग गर्ने उनको भनाई छ ।
उनले प्रस्तावित विधेयकको प्रभाव क्षेत्रबारे सरोकारवालासँग छलफल भइरहेको र विगतका कानून कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर कानून निर्माणमा गम्भीरता अपनाएको बताइन । प्रस्तावित विधेयक ऐनको रूपमा कार्यान्वयनमा आएपछि विद्यमान सरकारी संयन्त्रलाई प्रयोग गर्ने उनको भनाई छ ।
उनले भनिन्, ‘हजुरहरूले जति धेरै हामीलाई समस्या औँल्याइदिनुभयो, कानुन त्यति परिस्कृत हुन्छ, त्यति स्पेसलाइज्ड हुन्छ, स्पेसिफिक हुन्छ । र जब कानुन स्पेसिफिक हुन्छ, भोलि गएर कार्यान्वयन गर्नलाई पनि हामीलाई सहज हुन्छ ।’
मन्त्री चौधरीले इजरायलको कृषि कार्यक्रम नेपालमा ल्याउने विषयमा इजरायली राजदूतसँग समेत छलफल भइसकेको जानकारी दिइन्।






