काठमाडौँ । रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै बाढी तल्लो क्षेत्रमा बढेपछि काठमाडौंबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन रोकिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जोखिमको अवस्था हेरेर ती जिल्लातर्फ जाने सवारी काठमाडौँमै होल्ड गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेका छन्।
गृहमन्त्री सुधन गुरुङले ती सडकमा पूर्ण रूपमा आवतजावत रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। धादिङ प्रशासनले पृथ्वी राजमार्गमा रहेका सवारीलाई जोखिमयुक्त स्थानतर्फ अघि नबढाई सुरक्षित ठाउँमा रोक्ने व्यवस्था गरेको छ।
गल्छी आसपास नदीको बहाव बढेपछि तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। नदीको अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।






