काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई सरकार र सिंगो देश साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। उनले बाढीबाट ५० जनाभन्दा बढीको मृत्यु भएको विवरण प्राप्त भएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
“तपाईँहरूको यो असह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौँ,” उनले भनेका छन्, “बाढीमा परी घाइते भई अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा
प्रधानमन्त्री शाहका अनुसार बाढीको सूचना प्राप्त भए लगत्तै सरकारले उपलब्ध शक्ति र संयन्त्रलाई खोज, उद्धार तथा राहतमा परिचालन गरेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली खटाइएका छन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत २५० जनाभन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेलाई काठमाडौँ ल्याएर उपचार सुरु गरिएको उनले जानकारी दिएका छन्। घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित बनाउने कार्य सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो। त्यसपछि राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठकबाट खोज, उद्धार तथा राहतलाई तीव्र बनाउनेसम्बन्धी निर्णय गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
उपचारका लागि सय शय्या छुट्याइयो
प्रधानमन्त्री शाहले बाढीमा घाइते भएकाहरूको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा एक सय शय्या छुट्याइएको जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई पनि घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
राष्ट्रिय ट्रमा सेन्टर तथा सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल स्काउट र विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री परिचालन गरिएको उनले बताएका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।
नौ स्थानीय तह बढी प्रभावित
प्रधानमन्त्रीका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरा सुन्दरी र सिद्धलेक तथा गोरखाको सहिद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।
सम्बन्धित क्षेत्रका सङ्घीय सांसदसँग परामर्श गरी स्थानीय तहमा आवश्यकताअनुसार सहजीकरण भइरहेको उनले बताएका छन्। प्रभावित परिवारसम्म खाद्यान्न, स्वच्छ खानेपानी, औषधि र अस्थायी आवासको व्यवस्था तत्काल पुर्याइने जनाइएको छ।
बेपत्ताको खोजीलाई थप तीव्र बनाउनुका साथै घाइते र भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गरिने प्रधानमन्त्रीले बताएका छन्। रातभर पनि उद्धार कार्य जारी राखिने उनको भनाइ छ।
क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता
प्रधानमन्त्री शाहले बाढीले क्षति पुर्याएका सडक, पुल, विद्युत् र खानेपानी संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने बताएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरी जनजीवन सामान्य अवस्थामा फर्काउन सरकार लागिरहने उनको प्रतिबद्धता छ।
“यो कठिन घडीमा तपाईँहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईँहरूकै साथमा छ,” उनले भनेका छन्, “तपाईँहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।”
प्रधानमन्त्री शाहले सामाजिक सङ्घसंस्था, उद्योगी-व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका छन्।






