काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीमा परी घाइते भएका रसुवागढी भन्सार कार्यालयका नायब सुब्बाद्वय धर्मराज शाही र तिलक पराजुलीलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। उनीहरूको हाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
बुधबार साँझ ८ बजेसम्म संकलित विवरणअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अस्पताल पुगेर शाही र पराजुलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूसँगै उद्धार गरी काठमाडौँ ल्याइएका जलविद्युत आयोजनाका कर्मचारी धनबहादुर थापा मगरलाई पनि अर्थमन्त्रीले भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।
बाढी प्रभावित क्षेत्रबाट रसुवागढी भन्सार प्रमुखसहित आठ कर्मचारीलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ। उद्धार गरिएका कर्मचारी भन्सार विभाग आइपुगेका छन्।
अर्थमन्त्री डा. वाग्लेले भन्सार विभागमा उनीहरूसँग भेट गरी बाढीको घटनाक्रम र भन्सार कार्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
भन्सार कार्यालयका थप आठ कर्मचारी भने अहिले पनि रसुवागढीमै छन्। उनीहरू अर्थ मन्त्रालय र भन्सार प्रशासनसँग सम्पर्कमा रहेको र उद्धारको प्रयास जारी रहेको जनाइएको छ।
हालसम्म प्राप्त विवरणअनुसार रसुवागढी भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कबाहिर छन्। उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।
बाढीले रसुवागढी भन्सार प्रशासनसँगै नाकाबाट हुने व्यापारमा समेत ठूलो क्षति पुर्याएको छ। भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण भने संकलनकै क्रममा छ।






