काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट आर्थिक सहयोग जुट्न थालेको छ।
सरकारले विपद् प्रभावितका लागि प्राप्त हुने आर्थिक सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था गरेअनुसार कुमारी बैंक लिमिटेडले कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
प्राप्त सहयोग रकम रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ। सरकारले विपद् व्यवस्थापनका लागि प्राप्त हुने आर्थिक सहयोगलाई एकीकृत रूपमा परिचालन गर्ने नीति लिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन मानवीय सहायता, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनाका लागि स्रोत व्यवस्थापन भइरहेका बेला बैंकको यो सहयोग सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यका रूपमा आएको हो।






