काठमाडौँ । रसुवामा आएको बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
बाढीका कारण सञ्चार सम्पर्क विच्छेद हुनुका साथै आयोजनास्थलसम्म पुग्ने भौगोलिक अवस्था कठिन बनेपछि उनीहरूको उद्धारमा समेत समस्या देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये आधा नेपाली र आधा विदेशी नागरिक रहेको जनाइएको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ कर्मचारी पनि सम्पर्कमा छैनन्। उनीहरूमध्ये ८ जना कोरियन नागरिक रहेका छन्।
यस्तै, आयोजनासँग सम्बन्धित जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ कर्मचारी पनि बेपत्ता भएको जानकारी प्राप्त भएको छ। उक्त आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कर्मचारी तथा कामदार उद्धारको प्रतीक्षामा रहेका छन्।
लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ कर्मचारीसहित ६० जना बुधवारदेखि सुरुङभित्र थुनिएका छन्। सुरुङमा रहेका अन्य ३५ जना कामदारको अवस्था पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन। उद्धारका लागि विकासकर्ता पक्षबाट पहल भइरहेको भए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ उत्पन्न भएको छ।
त्यसैगरी, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ कर्मचारी सम्पर्कविहीन छन्। टिमुरे क्षेत्रमा रहेका तीन कामदार भने अग्लो स्थानमा पुगेर सुरक्षित भएको जनाइएको छ। तर, सो क्षेत्रमा हालसम्म सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन।
मैलुङ खोला जलविद्युत आयोजनाको पावर हाउसमा कार्यरत ८ कर्मचारी पनि बुधवारदेखि सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे जानकारी लिन हेलिकप्टरबाट निरीक्षण गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ।
त्यस्तै, १२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा सिभिल ठेकेदारका रूपमा कार्यरत सिनो हाइड्रोका दुई कामदार बेपत्ता छन्। सोही कम्पनीका तीन चिनियाँ र दुई नेपाली गरी पाँच कर्मचारी भने नजिकैको गाउँमा आश्रय लिएर बसेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ।
बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको उद्धार अहिले मुख्य चुनौती बनेको छ। सञ्चार सम्पर्क अभाव, आयोजनास्थलको विकटता र हेलिकप्टरको सीमित उपलब्धताका कारण उद्धार प्रक्रिया थप जटिल बनेको इप्पानले जनाएको छ।






