काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारमा नेपाली सेनाले करिब चार हजार पाँच सयभन्दा बढी फौज परिचालन गरेको छ। सेनाले शुक्रबार दिउँसो ३ बजेसम्म ४० विदेशी नागरिकसहित ७०६ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ।

नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशी नागरिकमध्ये २९ भारतीय, चार जर्मन, चार चिनियाँ, दुई कोरियन र एक ओमानी नागरिक रहेका छन्।

बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब चार हजार पाँच सयभन्दा बढी फौज खटिएका छन्। परिचालित टोलीले सम्बन्धित निकायसँग समन्वय गर्दै घाइते तथा प्रभावितहरूको खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ।
सेनाका टोलीले खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत गरिरहेका छन्।






