काठमाडौँ । रसुवामा आएको बाढीपछि खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले भदौ १० गतेदेखि १३ गते साँझसम्म स्थल र हवाई माध्यमबाट २ हजार ६५० जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार भदौ १३ गते साँझ ६ बजेसम्म मात्रै हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रबाट ५५० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ५४ जना विदेशी नागरिक छन्। जसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक रहेका छन्।
२१६ विदेशीसहित २६५० जनाको उद्धार
सेनाका अनुसार भदौ १० गतेदेखि हालसम्म स्थलमार्फत २०० र हवाई साधनमार्फत २ हजार ४५० जनाको उद्धार गरिएको छ।
हवाई उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक छन्। सेनाले उपलब्ध गराएको विवरणअनुसार उनीहरूमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानी नागरिक छन्।
सेनाले उद्धारसँगै राहत सामग्री ढुवानीको काम पनि गरिरहेको छ। राहत सामग्री काठमाडौँबाट त्रिशूलीसम्म हवाई तथा स्थल मार्गबाट पुर्याइएको र त्रिशूलीबाट आवश्यकताअनुसार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा ढुवानी गरिएको सेनाले जनाएको छ।
टनेलको प्रवेशद्वार पत्ता लगाउने प्रयास
बाढीका कारण प्रभावित हाइड्रोपावरका टनेलहरूमा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि विभिन्न उपकरण प्रयोग गरी प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको छ।
सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र त्रिशूली र धुन्चेबाट हालसम्म २ हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
८३०० भन्दा बढी सैनिक परिचालित
प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गरिएको छ। उनीहरू घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग र आपत्कालीन उपचारलगायत कार्यमा खटिएका छन्। सेनाले अन्य निकायसँगको समन्वयमा उद्धार तथा राहतका काम भइरहेको जनाएको छ।
भदौ १४ गते पनि खोज तथा उद्धार जारी रहने
सेनाले भदौ १४ गते पनि नदी किनारमा शव खोजतलास तथा व्यवस्थापनमा सहयोग गर्ने, आपत्कालीन उपचारलाई निरन्तरता दिने र मैलुङ, टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रमा खोज तथा उद्धार जारी राख्ने योजना बनाएको छ।
त्यसैगरी आसपासका टनेलहरूमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउने कार्यमा समेत जनशक्ति परिचालन गरिने सेनाले जनाएको छ।






