काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि कुनै बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।
बाढीपछिको खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण, आर्थिक सहयोग, सञ्चार र सडक पुनः स्थापनाको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकार प्रत्येक प्रभावित नागरिकको जीवन रक्षा र राहतमा अहोरात्र खटिरहेको बताएका हुन्।
‘नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ।’
भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनले बताएका छन्। प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका कारण तथ्याङ्क सङ्कलन तथा उद्धार चुनौतीपूर्ण बने पनि सरकार दृढतापूर्वक अघि बढिरहेको उनको भनाइ छ।
नौ हजार ४३५ जनाको उद्धार, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म नौ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
उद्धार तथा राहतका लागि आइतबार मात्रै थप ७२ सहित कुल ३९४ हवाई उडान भएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा स्वयंसेवकसमेत निरन्तर खटिएका छन्।
विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनालाई उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
उक्त क्षेत्रमा चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार जारी राखेको छ। चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोजी गरे पनि मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले बताएका छन्।
त्रिशूली–३ ‘ए’ को सुरुङ खोल्न ‘ब्लास्टिङ’
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले ‘ब्लास्टिङ’ गरिरहेका छन्।
घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ सम्मिलित ९० सदस्यीय संयुक्त टोली परिचालित छ।
टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर दुई फिट चौडाइ र तीन फिट उचाइको प्वाल बनाएको थियो। डोरीको सहायताले तल झरेर बोलाउँदा सुरुङभित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
अहिले ठूला उपकरणको प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने काम एकसाथ भइरहेको छ।
विभिन्न जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञ
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयास गरिरहेको छ। चिनियाँ विशेषज्ञ टोलीसमेत नेपाली सेनासँग समन्वय गरेर काममा खटिएको छ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी स्थलगत अवलोकनपछि पम्प र एक्साभेटर परिचालन गरेर उद्धार अघि बढाएको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धार गस्ती गरिरहेको छ। त्यहाँ पनि भारतीय टोलीले स्थलगत अवलोकनपछि पम्प र एक्साभेटर प्रयोग गरेर काम थालेको छ।
मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई अवलोकनपछि उद्धारसम्बन्धी काम सुरु गरेको प्रधानमन्त्रीले बताएका छन्।
२६७ घाइतेको उद्धार, १५६ जना अस्पतालबाट डिस्चार्ज
बाढी प्रभावित क्षेत्रबाट २६७ घाइतेको उद्धार गरी स्थानीय तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिएको छ। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अन्य घाइतेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा उपचार र मनोपरामर्शका लागि काठमाडौँबाट चिकित्सकसहितका टोली खटाइएको छ।
बाढीका कारण सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थालाई पुनः सञ्चालनमा ल्याउने काम पनि भइरहेको छ।
प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब २४ करोडभन्दा बढी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘उद्धार अनुरोध पोर्टल’मार्फत राहत कोषमा प्राप्त रकमको विवरण सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार आइतबार मध्याह्नसम्म प्रधानमन्त्री राहत कोषका नौवटा वाणिज्य बैंक खातामा पाँच अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।
हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ। सङ्कलित रकम प्रभावकारी रूपमा खर्च गर्ने विषयमा सरकारले छलफल गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
२६ आश्रयस्थल सञ्चालन, एकै दिन तीन हजार ४५४ लाभान्वित
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। ती केन्द्रबाट आइतबार मात्रै तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलीत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र रसुवाको उत्तरगया पुर्याइएको छ।
मैथिली ब्यारेकबाट धादिङको बैरेनीस्थित प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबल ब्यारेकमा राहत सामग्री पठाइएको छ।
सङ्कलित सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ।
अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता
प्रधानमन्त्री शाहका अनुसार एसियाली विकास बैंकले पाँच मिलियन अमेरिकी डलर बजेटरी अनुदान र प्राविधिक सहायताका लागि थप एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलिया सरकारबाट एक मिलियन अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
भारतबाट चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि थप सहायता आउने क्रममा रहेको प्रधानमन्त्रीले बताएका छन्।
चीनसँग ३० वटा बेलीब्रिज सहयोग मागिएको छ। भारतले आइतबार २३० फिट लामो एक लेनको मोडुलर स्टिल पुल पठाएको छ भने थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी एक मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ।
अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन
प्रधानमन्त्री शाहले बाढी प्रभावित अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन भइसकेको जानकारी दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त २० वटा स्याटलाइट फोन आइतबार प्रभावित क्षेत्रमा पठाएको छ।
बाढीअघि नेपाल टेलिकमका १२० र एनसेलका ७८ बीटीएस सञ्चालनमा थिए। बाढीले नेपाल टेलिकमका ३८ र एनसेलका २७ बीटीएसको सेवा अवरुद्ध बनाएको थियो।
हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ बीटीएस पुनः सञ्चालनमा आएका छन्। बाँकी साइट पनि शीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
वैकल्पिक सडक खुलाउने प्रयास
बाढीले मुख्य सडकमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रलाई जोड्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको थियो। तर, भोटेकोशीमा पानीको सतह बढ्नुका साथै पहिरो जाँदा वैकल्पिक सडकसमेत प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन्।
कृष्णभीर क्षेत्रमा नदी कटानका कारण यातायात अवरुद्ध भएको छ। सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकाय परिचालन गरिएको छ।
७८१ शव फेला, पहिचान नभएकाको कानुनबमोजिम व्यवस्थापन
बाढीबाट ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको छ।
पहिचान खुलेका शव आफन्तको जिम्मा लगाइएको छ। पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ।
यस्ता शवको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार भइरहेको प्रधानमन्त्रीले बताएका छन्। पहिचान गर्न नसकिने अवस्थामा रहेका शवको डीएनएसहित पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर सरकारले व्यवस्थापन गरिरहेको छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय एकता र सामूहिक प्रयासबाट संकट सामना गर्न सकिने बताएका छन्। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनः स्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।






