काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे छलफल भएको छ।
भेटवार्तामा बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत व्यवस्थापन र प्रभावित नागरिकको व्यवस्थापनका विषयमा छलफल भएको हो। विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग पुर्याउने तथा सरकारी प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
बाढीका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्स्थापना तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि भेटमा उठेको थियो।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारका सम्बन्धित संयन्त्रलाई परिचालन गरिएको जानकारी गराउनुभएको छ। उहाँले राहत सामग्रीको पहुँच सहज बनाउने र विस्थापित तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि राज्यका संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको बताउनुभएको छ।
भेटमा विपद्पछिको तत्कालीन प्रतिकार्यसँगै क्षतिग्रस्त संरचनाको पुनर्स्थापनालाई अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।






