काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा टनेल उद्धार कार्यमा अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । उनका अनुसार टनेलमा फसेकाहरूको उद्धारका लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरू पनि खटिएका छन् ।
उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए । उनकाअनुसार भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
उनले भने, ‘टनेल रेक्स्युको लागी हाम्रो टिम पहिले देखी नै खटिई राखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ । त्यहाँको भूगोलको असहज अवस्था र कठिनाइलाई पन्छाउँदै उहाँहरूले दिनरात नभनी काम गरिरहनुभएको छ । तर केही बेर अगाडीसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन । उहाँहरू प्रयासरत नै हुनुहुन्छ ।’
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ ।
दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए। बाढी गएको ७ दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी लगायतका आयोजनामा फसेकाहरूको उद्धार गर्न सकिएको छैन ।






