काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडका कर्मचारीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा आर्थिक सहयोग गरेका छन्।
बैंकमा कार्यरत कर्मचारीले स्वत:स्फूर्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूले रकम संकलन गरेका हुन्।
कर्मचारीहरूको प्रतिनिधित्व गर्दै बैंकका मानव संसाधन प्रमुख जनक चापागाईं, सिंहदरबार शाखा प्रमुख रामराजा उप्रेती, दीना धौबडेल, परशुराम सुवेदी र हरेराम मिश्रको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो। सो अवसरमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले कर्मचारीहरूबाटै यति ठूलो रकम संकलन हुनु प्रशंसनीय रहेको भन्दै बैंकका कर्मचारीको योगदानको प्रशंसा गरेका थिए।
कर्मचारीले संकलन गरेको ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।
बैंकबाट छुट्टै दुई करोड ५१ लाख सहयोग
बाढीपीडितका लागि कर्मचारीले गरेको सहयोग बैंक स्वयंले उपलब्ध गराएको संस्थागत सहयोगभन्दा अलग हो। एभरेष्ट बैंकले छुट्टै दुई करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।

यसरी बैंक र त्यहाँ कार्यरत कर्मचारीबाट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल तीन करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सहयोग पुगेको छ।
बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ। कर्मचारीहरूले समेत स्वत:स्फूर्त रूपमा रकम संकलन गरी संस्थागत सहयोगभन्दा अलग रूपमा सरकारी कोषमा जम्मा गरेका हुन्।






