काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उनको दाबी छ । प्रवक्ता खरेलले सरकारले सीमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको बताए । उनले राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको सहयोगमा विपद्पछिको खोज, उद्धार र राहत वितरणको कार्य भइरहेको समेत बताए । उनले विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राज्यको सम्पूर्ण ध्यान उद्धार, राहत र खोजी कार्यमा केन्द्रित रहेको बताए । उनले सर्वदलीय बैठकमा दलहरूले उद्धार तथा राहत वितरण प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको बताए।
सर्वदलीय बैठकमा तीनै तहमा सर्वदलीय रानजीनितक संयन्त्र बनाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको कार्य गर्ने सहमति भएको छ ।






