काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २९ लाख ६५ हजार ५८२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।
गाउँपालिकाले भदौ १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीको योगदानबाट जुटाइनेछ।
यसअन्तर्गत गाउँपालिकाबाट ११ लाख ११ हजार १११ रुपैयाँ उपलब्ध गराइनेछ। गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापत ५ लाख २३ हजार ५०० रुपैयाँ योगदान गर्ने भएका छन्।
त्यस्तै, गाउँपालिकाका कर्मचारीबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ योगदान गरिनेछ। यसमा अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरका कर्मचारीको दुई दिनको तलब समावेश हुनेछ।
गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ योगदान गरिनेछ। यसअन्तर्गत माध्यमिक तहका शिक्षकको सात दिन, आधारभूत तहका शिक्षकको पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीको दुई दिनको तलब उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।
यसरी गाउँपालिकाबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ र सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ गरी कुल २९ लाख ६५ हजार ५८२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
गाउँपालिकाले भदौ १० गते तिब्बत-नेपाल सीमा क्षेत्रबाट भोटेकोशी नदी हुँदै आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को कठिन अवस्थामा संघीय तथा प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, पेसागत संघ–संस्था र आमनागरिकबीच सहकार्य, समन्वय, मानवीय दायित्व तथा सामाजिक कर्तव्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। प्रभावितको द्रुत उद्धार, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनका लागि योगदान पुर्याउने उद्देश्यले उक्त रकम सरकारी विपद् कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाको भनाइ छ।







