जुम्ला। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि जुम्लाको गुठीचौर गाउँपालिकाले १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
(हिजो) मंगलवार बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढाथापाले जानकारी दिए ।
यसैबीच, बाढीमा परेका गाउँपालिकाका आफ्ना नागरिकहरूको खोज तथा उद्धारका लागि गाउँपालिकाले विशेष निर्णय पनि गरेको छ। बाढीबाट प्रभावित गाउँपालिकाका ९ जना नागरिकका परिवारलाई जनही ७५ हजार रुपैयाँका दरले कुल ६ लाख ७५ हजार रुपैयाँ खोज तथा उद्धारका लागि सम्बन्धित सदस्यलाई उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।







