काठमाडौँ । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजतलास, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको हो।
अर्थ मन्त्रालयमा भदौ १६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा। अम्बिका शर्मा लामिछानेको उपस्थिति रहेको बैंकले जनाएको छ।
भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै बैंकले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई सहायता तथा खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ।
बैंकले बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको सकुशल उद्धार र घाइतेको शीघ्र उपचारको कामना गरेको छ। प्रभावित समुदायप्रति बैंकले समवेदना पनि व्यक्त गरेको छ।






