काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट घाइते भई उपचाररत व्यक्तिलाई भेटेका छन्।
मन्त्री श्रेष्ठ आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर उपचाररत घाइते तथा उनीहरूका परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
त्रिशूली-थ्री एबाट उद्धार गरिएका कर्मचारीसँग भेट
मन्त्री श्रेष्ठले त्रिशूली-थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेका छन्।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार उनले महर्जनको परिवारसँग पनि भेट गरी हौसला प्रदान गरेका थिए।
चिनियाँ नागरिक र किशोरीको पनि स्वास्थ्यबारे जानकारी
मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि भेटेका छन्। त्यस्तै, स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीको स्वास्थ्य अवस्थाबारे समेत उनले जानकारी लिएका छन्।
घाइतेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पानी र लेदोका कारण शरीरमा भएका घाउ निको हुँदै गएको बताएका छन्।
“उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउ निको हुँदैछन्। शारीरिक घाउचोट निको हुन थालेका छन्,” मन्त्री श्रेष्ठले भनेका छन्, “अब मानसिक तथा मनोवैज्ञानिक परामर्श आवश्यक छ।”
स्वास्थ्यकर्मी र उद्धारकर्मीलाई धन्यवाद
मन्त्री श्रेष्ठले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई धन्यवाद दिएका छन्। स्वास्थ्यकर्मीले घाइतेको राम्रोसँग रेखदेख गरिरहेको उनले बताएका छन्।
वीरेन्द्र सैनिक अस्पतालका कर्णेल डा. कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी गराएका थिए।






