काठमाडौँ । विज्ञापन बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति तय गरिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष छनोट प्रक्रियाअन्तर्गत संक्षिप्त सूचीमा रहेका ११ जना उम्मेदवारलाई आगामी भदौ २८ गते आइतबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
कार्यक्रम सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ। उम्मेदवारहरूलाई तीन समूहमा विभाजन गरी फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
पहिलो समूहमा अनन्त कान्त मैनाली, अनिल बास्कोटा, अशोककुमार घिमिरे र पुष्पराज गिरी रहेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म हुनेछ।
त्यसैगरी दोस्रो समूहमा भुवनप्रसाद आचार्य, मेगराज खड्का, रामहरि कार्की र मेघेन्द्रप्रकाश गिरीलाई समावेश गरिएको छ। उनीहरूका लागि दिउँसो १२:०५ बजेदेखि २:०५ बजेसम्मको समय निर्धारण गरिएको छ।
तेस्रो समूहमा लक्ष्मण हुमागाईँ, सन्तोष श्रेष्ठ र सुजनराज श्रेष्ठ रहेका छन्। उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिउँसो २:३० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।
मन्त्रालयले उम्मेदवारलाई आफूलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुन आग्रह गरेको छ। उपस्थित हुँदा व्यावसायिक कार्ययोजनाको सफ्टकपी तथा आवेदनका क्रममा बुझाइएका सम्पूर्ण कागजातका सक्कल प्रति साथमा ल्याउनुपर्नेछ।
उम्मेदवारलाई कार्ययोजना प्रस्तुत गर्न १५ मिनेटको समय उपलब्ध गराइनेछ भने बाँकी समय अन्तर्वार्ताका लागि प्रयोग हुने मन्त्रालयले जनाएको छ।
सिंहदरबार प्रवेशका लागि आवश्यक गेटपासलगायत थप जानकारी चाहिएमा मन्त्रालयले उपलब्ध गराएको सम्पर्क नम्बर ९८६३९३०७०८ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।







