काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
भदौ १० गतेको बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो।
हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ। त्यसमध्ये नौवटा वाणिज्य बैंकमा रहेको खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ जम्मा भएको छ।
यस्तै, दुईवटा वाणिज्य बैंकमा अमेरिकी डलरमा समेत रकम मौज्दात रहेको छ। ती खातामा कुल २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराइसकिएको छ।
सरकारले बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतदेखि पुनर्स्थापनासम्मका कार्यमा स्रोत परिचालन गर्ने उद्देश्यले सहयोग संकलनलाई अघि बढाएको थियो। कोषमा जम्मा भएको रकम र त्यसबाट निकासा भएको स्रोतलाई विपद् प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा परिचालन गर्ने व्यवस्था गरिएको छ।






