काठमाडौँ । अधिकृत समाज ब्याट-३५ ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ सहयोग गरेको छ।
समाजले बुधबार जारी गरेको जानकारीअनुसार शाखा अधिकृतहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ७१ हजार दुई सय ३४ रुपैयाँ जम्मा गरेका छन्। यस्तै, ब्याटको कोषमा जम्मा भएको एक लाख ४७ हजार नौ सय पाँच रुपैयाँसमेत सहयोग गरिएको छ।
समाजका अनुसार दुवै शीर्षकको रकम गरी कुल तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ विपद् प्रभावितका लागि सहयोग गरिएको हो।
भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति समाजले दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
समाजले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापना तथा सम्पर्कविहीन नागरिकको खोजी कार्यमा सहयोगका लागि उक्त रकम उपलब्ध गराएको जनाएको छ।
विपद्को कठिन अवस्थामा प्रभावितहरूको राहत, उद्धार र पुन:स्थापना कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि सम्बन्धित सबैलाई समाजले अपिलसमेत गरेको छ।









