काठमाडौँ । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित सेवा र प्रक्रियाबारे सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउन नि:शुल्क एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानिर्देशक जितेन्द्र बस्नेतको कार्यकालमा अघि बढाइएको उक्त सेवा उनी विभागबाट बिदाइ भएकै दिन सार्वजनिक गरिएको हो।
विभागले भदौ २४ गते जारी गरेको सूचनाअनुसार सोही दिनदेखि कल सेन्टर सञ्चालनमा आएको छ। विभागबाट प्रवाह हुने सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया तथा आवश्यक कागजातलगायत विषयमा उद्योगी-व्यवसायीलाई जानकारी दिने उद्देश्यले एआईमा आधारित कल सेन्टर सञ्चालन गरिएको विभागले जनाएको छ।
२४सै घण्टा जानकारी
विभागका अनुसार एआई कल सेन्टरको सेवा २४सै घण्टा उपलब्ध हुनेछ। सेवाग्राहीले ९७००००४४१७ नम्बरमा फोन गरी उद्योग प्रशासनसँग सम्बन्धित जिज्ञासा राख्न र आवश्यक जानकारी लिन सक्नेछन्।
कल सेन्टरले विभागबाट उपलब्ध हुने सेवा, ती सेवा लिने प्रक्रिया र आवश्यक कागजातलगायत विषयमा जानकारी दिनेछ। विभागले सेवाग्राहीलाई आफ्ना जिज्ञासा र समाधानका लागि उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ।
उद्योग दर्तादेखि विदेशी लगानीसम्म
विभागको सूचनाअनुसार कल सेन्टरले उद्योग दर्ता तथा दर्तापछिका सेवा, विदेशी लगानी स्वीकृति प्रक्रिया, आईईई-ईआईए स्वीकृति र ट्रेडमार्क दर्तालगायत विषयमा सहायता प्रदान गर्नेछ।
सेवाग्राहीलाई उद्योग प्रशासनसँग सम्बन्धित थप विषयमा समेत सूचना तथा जानकारी उपलब्ध गराउन सक्ने गरी प्रणालीमा क्रमशः ज्ञान थप्दै परिष्कृत र परिमार्जन गर्दै लैजाने विभागले जनाएको छ।
यसअघि अनलाइन सेवा विस्तार
एआई कल सेन्टर सञ्चालनमा आउनुअघि विभागले सेवा प्रवाहमा अनलाइन प्रणालीको प्रयोग विस्तार गरेको थियो। विभागले साउन १३ गते जारी गरेको सूचनामा अधिकांश सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको र बाँकी सेवालाई समेत क्रमशः अनलाइन प्रणालीमा लैजाने काम भइरहेको उल्लेख गरेको थियो।
अनलाइन प्रणालीमार्फत सञ्चालित सेवामा सेवाग्राहीको भौतिक उपस्थितिलाई सकेसम्म कम गर्ने व्यवस्था गरिएको थियो। विभागमा उपस्थित हुनैपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका सञ्चालक स्वयं, कर्मचारी वा आधिकारिक प्रतिनिधि परिचयपत्रसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको थियो।
त्यस्तै, सहायक सेवाका आवेदन र त्यससँग संलग्न कागजातसमेत उद्योग व्यवस्थापन सूचना प्रणालीबाट अनलाइन उपलब्ध गराउने व्यवस्था गरिएको थियो। उद्योग दर्ता तथा दर्तापछिका सेवा, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, छुट–सुविधा तथा सहुलियत सिफारिस र वातावरणीय स्वीकृतिसम्बन्धी विभिन्न सेवा अनलाइन प्रणालीमा समेटिएको विभागको विवरणमा उल्लेख छ।
बिदाइका दिन सार्वजनिक भयो सेवा
महानिर्देशक बस्नेतको कार्यकालमा विभागको सेवा प्रवाहमा अनलाइन प्रणालीको प्रयोग विस्तार गरिएकै क्रममा एआई कल सेन्टर पनि सञ्चालनमा ल्याइएको हो। सेवा आवेदन र प्रक्रियालाई अनलाइनमा लैजाने कामपछि सेवासम्बन्धी सूचना तथा जिज्ञासाका लागि एआईमा आधारित कल सेन्टर थपिएको हो।
यससँगै उद्योग विभागमा सेवा आवेदन र प्रक्रियाको अनलाइन विस्तारपछि सेवाग्राहीलाई सूचना उपलब्ध गराउने प्रणालीमा समेत एआईको प्रयोग सुरु भएको छ। विभागले यसको ज्ञानको दायरा क्रमशः विस्तार र परिष्कृत गर्दै लैजाने जनाएको छ।
विभागमा बस्नेतलाई कम बोल्ने र काममा केन्द्रित रहने प्रशासकका रूपमा चिन्ने कर्मचारीहरू रहेको बताइन्छ। उनको कार्यकालमा विभागलाई प्रविधिमैत्री बनाउने तथा सेवाग्राही र कर्मचारीबीचको प्रत्यक्ष सम्पर्कको आवश्यकता घटाउँदै सेवा प्रवाहलाई प्रणालीमा आधारित बनाउने प्रयास भएका थिए। एआई कल सेन्टरलाई पनि त्यही प्रक्रियाको पछिल्लो कडीका रूपमा हेरिएको छ।
यसैबीच, तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बस्नेतको सरुवा गरेपछि उनी विभागबाट बिदाइ भएका हुन्। सरुवाको निर्णयलाई लिएर विभागभित्र समेत चासो देखिएको कर्मचारीहरू बताउँछन्।
मन्त्री यादवले पनि त्यसको अघिल्लो दिन मन्त्रालयका सचिवसहितको उपस्थितिमा समितिमा आफूले अपेक्षाअनुसार काम गर्न नसक्नुमा कर्मचारीबाट पर्याप्त सहयोग नपाएको आशयको असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनको उक्त अभिव्यक्तिलाई लिएर कर्मचारी वृत्तमा भने फरक प्रतिक्रिया देखिएको थियो। केही कर्मचारीले नीतिगत तथा नेतृत्व तहको जिम्मेवारी कर्मचारीमाथि सार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।






