काठमाडौँ । सभामुख डीपी अर्यालले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिको केही अंश प्रतिनिधि सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख अर्यालले भदौ २६ गतेको बैठकमा सांसद सुनारले प्रयोग गरेको निश्चित शब्दावली हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सभामुख अर्यालले भनेका छन्, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’
भदौ २६ गतेको बैठकमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि गम्भीर आरोप लगाउँदै उनलाई तत्काल बर्खास्त गरी छानबिन गर्न माग गरेका थिए।
सुनारले आफ्नो अभिव्यक्तिका क्रममा ‘बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्दै महानिरीक्षक कार्कीमाथि उठेका विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका थिए।






