काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन् ।
उनले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गरे । यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषयहरू सम्बोधन भइसकेपछि अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ । थापाले पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई पनि नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न आग्रह गरे ।
लामो समय पदाधिकारीका रूपमा काम गरेका नेताहरूलाई पार्टीले पूर्वपदाधिकारीका रूपमा छुट्टै सम्मान दिनुको कारण पद नभई उनीहरूप्रतिको भरोसा र सम्मान भएको उनले बताए ।
सभापति थापाले भने, ‘महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठुलो सम्मानको विषय हो । पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ । त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो । सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषयहरू पनि सम्बोधन भइसकेका छन् । ती विषयहरू समाधान भइसकेपछि अब थप अलमल नगरी म सबैभन्दा पहिले पूर्व सभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु । त्यसैगरी, लामो समय पदाधिकारी भएर पार्टीमा योगदान दिनुभएका पूर्व वरिष्ठ नेताहरूलाई पनि म यहीँबाट आग्रह गर्न चाहन्छु । नेपाली काँग्रेसमा पूर्व पदाधिकारीहरूलाई छुट्टै सम्मान र आसन पदका कारण मात्र दिइएको होइन, उहाँहरूप्रतिको भरोसा र सम्मानका कारण दिइएको हो । आज नेपाली काँग्रेसमा नयाँ पुस्ताका साथीहरू आएका छन् । उहाँहरू यही पार्टीमा हुर्किएका, सिकेका र अगाडि बढेका साथीहरू हुन् । अहिले सबै पुस्तालाई जोडेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको छ । त्यसैले पुरानो र नयाँ पुस्ताका सबै नेता-कार्यकर्ता एक ठाउँमा उभिएर महाधिवेशनलाई सफल बनाउन सहयोग गरौँ भन्ने मेरो आग्रह छ ।’
थापाले काँग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिमा सोचेर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन्।






